गण्डकीमा सरकार बनाउने कांग्रेस–माओवादी प्रयास असफल, एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

गण्डकी, २८ वैशाख । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस–माओवादीसहितका दलहरुको प्रयास असफल भएको छ ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले पीएस गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ ।
कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् ।
यसैगरी बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । तर प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुगने अवस्था छैन ।
यदि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया