उपत्यकामा १५ दिन थपियो निषेधाज्ञा, निर्माण कार्य पनि बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

काठमाडौं, २८ बैशाख । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञा थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारीले उपत्यकामा बिहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । निषेधाज्ञाको अवधिमा किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । विहान ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले एक घण्टा थपिएको काठमाडौंका प्रजिअ पराजुलीले जनाए ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा सहभागी हुन नपाइने भएको छ । यसअघि १६ वैशाखमा घोषणा गरिएको निषेधाज्ञा २९ सम्म थपिएको थियो ।

प्रतिक्रिया