रुशा भन्छिन्, ‘कतिपयले तिमी मेरो क्रस हौं भन्छन्’
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

काठमाडौं, २८ बैशाख । मोडल तथा अभिनेत्री रुशा न्यौपाने यतिखेर निषेधाज्ञाका कारण अरुजस्तै रुमभित्रै दिनचर्या बिताइरहेकी छन् । कोरोना संक्रमणका कारण हरेक क्षेत्र प्रभावित छ । यस्तै, रुशाका लागि पनि कोरोनाा बाधक बन्न पुगेको छ । इटहरीकी रुशाले चार वर्षअघि मोडलिङमा करिअर सुरु गरेकी हुन् । तर, जब मोडलिङका लागि प्रस्ताव आउन थाल्यो, तब गत वर्ष लकडाउन भयो । अहिले पनि उनलाई यस्तै भएको छ । कलाकारितामै करिअर बनाउने सपना र उद्देश्यसहित दुई वर्षअघि काठमाडौं छिरेकी रुशा भन्छिन्, ‘अहिले मोडलिङका लागि अफरहरु आइरहेको छ । तर, यसैबेला निषेधाज्ञा भयो । त्यसैले घरमै छु ।’ सन् २०१७ मा इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल’को विजेता बनेपछि मोडलिङ करिअर सुरु गरेकी रुशाले हालैमात्र नेपाली फिल्म ‘बिहे पास’को सुटिङ सकेर बसेकी हुन् । रुशा फिल्मी अभिनयमा बढी रुची राख्छिन् । यिनै मोडल तथा अभिनेत्री रुशा न्यौपानेसँग एमपी सुब्बाको जम्काभेट :

मोडलिङमा लाग्नुभएको कति भयो ?
सन् २०१७ देखि मोडलिङ सुरु गरेकी हुँ । अहिले २०२१ भनेपछि चार वर्ष भयो ।
इटहरीमा हुँदै मोडलिङ गर्नुहुन्थ्यो ?

हो, काठमाडौं आएको त दुई वर्षमात्रै हुँदैछ । मैले ब्युटि प्याजेन्टबाट मोडलिङ सुरु गरेकी हुँ । इटहरीमा हुँदा ¥याम्प मोडलिङका अलावा म्युजिक भिडियोहरुमा अभिनय गरेँ । पहिलो पटक ‘तिम्रो जति’ गीतको मोडलिङ गरेकी हुँ ।

मोडलिङ पाइला चाल्ने अवसर कसरी मिल्यो ?
सानैदेखि फिल्म हेर्थे । फिल्म हेर्दा मलाई पनि अभिनयमा रुचि जाग्यो । तर, परिवारमा कोही कलाकारिता क्षेत्रमा थिएन, छैन । त्यसैले ब्युटि प्याजेन्ट ‘मिस कलेज नेशनल–२०१७’मा सहभागी भएँ । वीनर पनि भएँ । त्यसपछि मैले मोडलिङमा करिअर सुरु गरेकी हुँ ।

मोडलिङ गर्नकै लागि काठमाडौं आउनुभएको हो ?
हो, मलाई मोडलिङमा भन्दा फिल्मी अभिनयमा बढी रुचि छ । मेरो प्राथमिकता पनि अभिनयमै हो । अभिनयमै केही गरौँ भन्ने सोचले काठमाडौं आएकी हुँ ।

फिल्ममा अभिनय गर्नुभएको छ ?
भर्खरै ‘बिहे पास’ नामक फिल्मको सुटिङ सकेर बसेकी हुँ । फिल्मको सुटिङ सकेर काठमाडौं आउनेवित्तिकै निषेधाज्ञा भयो । त्यसैले अहिले काम रोकिएको छ । म्युजिक भिडियोहरुको काम आइरहेको थियो ।

‘बिहे पास’ कस्तो फिल्म हो ?
– सामाजिक तथा सन्देशमूलक फिल्म हो । उक्त फिल्ममा म लगायत दयाहाङ राई र प्रकृति श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।

डेब्यू फिल्मबाट कतिको आशावादी हुनुहुन्छ ?
त्यस्तो भयंकर आशा त छैन । तर, आफ्नो तर्फबाट शतप्रतिशत काम दिने प्रयास गरेकी छु । कथा र मेरो भूमिका राम्रो छ । निर्माणपक्षले पनि काम राम्रो भएको छ भन्नुभएको छ । त्यसैले राम्रो होला भन्ने अपेक्षा लिएकी छु ।

करिअरको सुरुवातैमै कोरोनाले धक्का दियो है ?
धक्का सबैलाई दिएको छ । तर, मलाईचाहिँ अलि बढी प्रभाव पारेको छ । गत वर्ष पनि कामहरु धमाधम पाइरहेका बेला लकडाउन भयो । त्यो बेला हातमा आइसकेको कामहरु समेत गर्न पाइनँ । यो पटक पनि त्यस्तै भएको छ ।

कलाकारिताबाहेक अरु के गर्नुहुन्छ ?
म पढ्दैछु । अहिले मेरो ब्याचुलर रनिङ हो । बाँकी समय मोडलिङ र अभिनयमै बित्दैछ ।

पढाइसँगै कलाकारिता गर्न समय कसरी मिलाउनुहुन्छ ?
अहिलेसम्म मेनेज गरिरहेकी छु । मैले फिल्म गर्दा कलेज विदा थियो । त्यसैले कलेज छाड्नु परेन । अरुबेला भिडियोमा काम आयो भने कलेजले विदा दिने गरेको छ । त्यतिखेर छुटेको कोर्ष अरुबेला पूरा गर्छु ।

कलाकारितामा संघर्ष गर्नु कतिको रहेछ ?
गाह्रै छ नि । तैपनि ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै जे सोचेर आएँ, त्यसैलाई निरन्तरता दिने सोचले संघर्ष गर्दैछु ।

कलाकारिता क्षेत्रमा नयाँलाई आश्वासन दिएर शोषण गरिन्छ भनिन्छ । तपाइँमाथि त्यस्तो प्रलोभन आएको छ कि छैन ?
सीधै त्यस्तो प्रस्ताव आएको छैन । तर, त्यस्तो नियत भएका व्यक्ति पनि भेटेकीछु । उनीहरुले घुमाउरो तरिकाले भनेको बुझेकी छु । नराम्रो सोच र नियत भएकाहरु सुरुमै आफूले बुझ्ने हो । जबरजस्त गर्ने भन्ने हुन्न । मैले ठाउँ दिएँ भने त फस्ने हो । त्यसैले अहिलेसम्म म फसेकी छैन ।

सीधै प्रेम गर्छु भन्ने प्रस्ताव पनि गर्लान नि ?
प्रेम प्रस्ताव आउनु नर्मल हो । हिजोआज त केटीलाई मात्र नभएर केटाहरुलाई पनि यस्तो प्रस्ताव आउँछ । अहिले त झन् ‘तिमी मेरो क्रस’ हौँ भनेर प्रस्ताव गर्ने चलन बढेको छ । एसएलसी दिएर भर्खरै कलेज जोइन गर्दाचाहिँ बढी प्रस्ताव आउँथ्यो ।

उद्देश्य के हो ?
मेरो उद्देश्य कलाकारितामै करिअर बनाउने हो । यो क्षेत्रमा अहिलेसम्म खुसी पनि छु । सबैबाट सपोर्ट पाएकी छु । यो नै मेरो लागि खुसीको कुरा हो ।

दृष्टिबाट

प्रतिक्रिया