काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सँग लड्न नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
बेलायती पत्रिका द गार्जियनको अनलाइन संस्करणमा लेख लेखदै उनले कोभिड–१९ विरुद्धको लडाईं लड्न अन्तर्राष्ट्रिय समुदायसँग नेपाललाई अत्यावश्यक स्वास्थ्य उपकरण, औषधि र खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो लेखमा अन्तर्राष्ट्रिय समुदायलाई ‘शेर्पा’ बन्न आह्वान समेत आग्रह गरेका छन् । उनले आपतमा हिमाल आरोहीहरूलाई आफ्नो अक्सिजनसमेत बाँड्नका लागि नेपालका शेर्पाहरु प्रख्यात रहेको उदाहरण दिँदै कोभिड–१९ का कारण नेपाललाई श्वास फेर्न गाह्रो परिरहेको बताउँदै आफ्नो देशले अन्तर्राष्ट्रिय समुदायको ‘शेर्पा’ खोजिरहेको उल्लेख गरेका छन् ।
यसअघि अमेरिकी मिडिया सीएनएनसँगको भिडियो अन्तरवार्तामा देशमा कोरोनाभाइरसको अवस्था ‘नियन्त्रण’मा रहेको बताएका थिए । तर द गार्जियनमा प्रधानमन्त्री ओलीले महामारीले विकराल रुप लिएको र जनताको ज्यान जोगाउन अन्तर्राष्ट्रिय समुदायको तत्काल सहयोगको आवश्यकता पनि औँल्याएका छन् ।