राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान, अब को बन्ला प्रधानमन्त्री ?
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

काठमाडौं, २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले सोमबार साँझ तीन दिनभित्र अर्थात यही बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् ।
राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायतल छलफल अगाडि बढाएका छन् ।

प्रतिक्रिया