संवैधानिक नियुक्ती : लोकसेवामा पूर्वसचिव रेग्मी, अख्तियारमा रेग्मी र खनाल
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ बैशाख । बहिष्कार र विरोधका बाबजुत बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा नियुक्ति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र निर्वाचन आयोगलगायतका संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।
स्रोतका अनुसार लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्तिको सिफारिश गरिएको छ ।
त्यस्तै, अख्तियारको रिक्त दुई आयुक्तहरुमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलिप रेग्मी र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई नियुक्त सिफारिस गरिएको छ ।
यसैगरी निर्वाचन आयोगको सदस्यमा पूर्व सचिव वीरबहादुर राईलाई नियुक्तिको सिफारिश गरिएकोे स्रोत बताए ।
नियुक्तिको केही नामहरु हेरफेर हुन सक्ने भएकाले सार्वजनिक गरिएको छैन । नियुक्ति सिफारिसको निर्णय भएको तर माइन्युट भइनसकेको परिषद्का सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बताए ।
सरकारले ६ महिनाको बीचमा दुई पटक अध्यादेश ल्याएर संवैधानिक नियुक्ति गरेको हो । अघिल्लो नियुक्तिविरुद्ध सर्वाैच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

प्रतिक्रिया