यो सरकार जसरी पनि बदल्नुपर्छ : देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, २५ बैशाख

काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन समेत निर्देशन दिए । उनले भने, ‘यो सरकार जसरी पनि बदल्नुपर्छ ।’

बैठकमा दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापालगायत सांसदहरुले आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकार परिवर्तन गर्नुपर्ने मतमा आफू सहमत भएपनि अविश्वासको प्रस्ताव राखेर काम नहुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आएपछि अहिले दर्ता गरेको अविश्वास प्रस्ताव के हुन्छ भन्ने नेताहरुबीच बहस भएको थियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्न सक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्त गरे । राष्ट्रपतिले दल फुटाउने जुटाउने भूमिका खेल्नु उपयुक्त नहुने धारणा उनको थियो ।

बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

प्रतिक्रिया