कोभ्याक्स अन्र्तगतको खोप छिटो आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप छिटो उपलब्ध गराइदिन राष्ट्र संघलाई आग्रह गरेका छन् ।
शुक्रबार नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप छिटो ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
भाइरसको फैलावट रोक्ने एउटैमात्र उपाय खोप भएकाले नेपालले कोभ्याक्सअन्तरर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको उपप्रधानमन्त्री पोखरेलले न्यान्तीसँग बताएका थिए ।
नेपालले भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायतका विषयमा सहयोगको अपेक्षासमेत गरेको उनको सचिवालयले जनाएको छ ।
जवाफमा संयुक्त राष्ट्र संघकी नेपालस्थित संयोजक साराले आफ्नोतर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेको बताइएको छ । उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना व्यक्त गरेको पनि जनाइएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ ।

प्रतिक्रिया