काठमाडौं, २४ बैशाख । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् ।
शुक्रबार संक्षिप्त विज्ञप्ति जारी गर्दै २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको बताएका छन् ।
नेपालले आफूहरू नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमालेका पक्षमा रहेको बताए । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, ‘तर अहिलेसम्म कुनै सहमति नभएको छैन,’ उनले भनेका छन्,‘२०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’
उनले कार्यकर्तालाई कुनै किसिमको भ्रममा नपर्न,नअल्मलिन र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन भन्दै आह्वान गरेका छन् ।
यसैबीच प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल हुने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीनिकट नेताहरूका अनुसार शुक्रबार दुवै नेताबीच छलफल हुने तय भएको हो । तर, नेता नेपालको सचिवालयले भने ओलीसँगको भेट तय भइनसकेको जनाएको छ ।