राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटाद्वारा उम्मेदवारी दर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । नेकपा एमाले माधव नेपाल पक्षबाट खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी गरेका छन् । उनले शुक्रबार निर्वाचन आयोगको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।
देवकोटाको उम्मेदवारीमा प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस रहेको छ । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।
देवकोटाको उम्मेदवारी मनोनयनका बेला एमालेको माधव नेपाल पक्षका नेताहरु नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेललगायत पनि आयोग कार्यालय पुगेका थिए ।
यस्तै, गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पनि आजै राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।
वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।
उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ । यसअघि उनले जित सुनिश्चित भएमात्र उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया