राष्ट्रियसभा उपनिर्वाचन : उम्मेदवारी आज दर्ता, बादलको अझै अनिश्चित
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।
उक्त पदपूर्तिका लागि ६ जेष्ठमा मतदान हुँदैछ । प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् ।
विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमाले ओली पक्षले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा बादललाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर, एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको पाइएको छ ।
जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बादलले अडान लिएपछि एमाले स्थायी कमिटीको बिहीबारको बैठकले कुनै निर्णय लिन नसकेको हो ।

प्रतिक्रिया