५२ जिल्लामा निषेधाज्ञा, ताप्लेजुङदेखि दार्चुलासम्म
अखबार टुडे
प्रकाशित:
२०७८, २२ बैशाख

काठमाडौं, २२ बैशाख । मुलुकमा कोभिड–१९ संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ ।
वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
जसअनुसार यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिम रहेको छ । त्यसमध्य तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ ।
नवलपरासी पश्चिममा आज बिहानदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि लागू हुनेछ । बारा र सिरहामा बिहीबार बिहान ६ बजेदेखि लागू हुनेछ ।
सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञ जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ ।
अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञ लागू गरिएको छ ।
यस्तै प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ ।
त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञ छ ।

प्रतिक्रिया