राष्ट्रपतिद्वारा जारी अध्यादेशप्रति कांग्रेसको आपत्ति
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाडौं, २१ बैशाख । प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको कडा विरोध गरेको छ ।
मंगलबार काग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश जारी गरिएको विरोध जनाएको हो । बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफ हुने गरी अध्यादेश जारी गरेको बताए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी थिइन् । जारी भएका अध्यादेशहरूमा विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ ।
यस्तै सभापति शेरबहादुर देउवाले छुट्टै विज्ञप्ति जारी गर्दै संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएकामा आपत्ति जनाएका छन् । अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैलीप्रति घोर आपत्तिजनक भएको उनको भनाइ छ ।

प्रतिक्रिया