नेपाल खबर

चीनबाट २० हजार खाली सिलिन्डर आउँदै

काठमाडौं, २१ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ ।
कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।
मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ ।
नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।
अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

Click to comment
To Top