चाँडै टीजी ब्राण्ड ल्याउँदैछु : तृष्णा गुरुङ
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाडौं, २१ बैशाख । कोरोना संक्रमण्का कारण करिब १० महिनासम्म देश लकडाउन हुँदा थलिएको व्यवसायी विस्तारै तग्रिँदै थियो । उद्यमी तथा व्यवसायीहरु नयाँ कामको सुरसारमा थिए । तर, तग्रिँन नपाउँदै पुनः देश लकडाउनको अवस्थामा पुगेको छ । कोरोना संक्रमणको नयाँ भेरिअन्टको जोखिम बढेसँगै सरकारले उपत्यकालगायत देशका आधाभन्दा जिल्लामा निषेधाज्ञा तथा लकडाउन जारी गरिसकेको छ । जसले व्यापार, व्यवसायीलगायत सारा क्षेत्र प्रभावित भएको छ । मृगतृष्णा फेसन हाउसले नयाँ क्लोथिङ ब्राण्ड ल्याउने तयारी गर्दैथियो । नेपाली फेसन दुनियाँमा छुट्टै पहिचान बनाएकी फेसन हाउसकी निर्देशक तथा डिजाइनर तृष्णा गुरुङ अहिले अलमलमा परेकी छन् । उनले ‘टीजी’ ब्राण्ड लञ्च गर्नै लाग्दा निषेधाज्ञा जारी भएको छ । ‘मेड इन नेपाल टीजी क्लोथिङ ब्राण्ड ल्याउने तयारी गर्दैथिएँ’ उनले भनिन्, ‘तर, कोरोना संक्रमणले गर्दा कामै रोकियो ।’ ‘टीजी ब्राण्ड’मार्फत क्याजुअल पहिरन उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्य लिएकी टीजी ब्राण्डकी सिईओ तृष्णासँग कुराकानी :

तपाइँको टीजी क्लोथिङ ब्राण्ड ल्याउने तयारी कहाँ पुग्यो ?

काम धमाधम हुँदैथियो । प्रमोशनका लागि इभेन्टसमेत तय भइसकेको थियो । तर, यसैबेला कोरोना संक्रमणले गर्दा निषेधाज्ञा जारी भयो । अहिले सबै काम रोकिएको छ । कम्पनी प्रमोशनल इभेन्टहरु पनि स्थगित गरेकी छु ।

कोरोना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै क्षेत्र प्रभावित बनेको छ । टीजी ब्राण्डलाई चाहिँ कस्तो असर ग¥यो ?
यसरी फेरि संक्रमण फैलिएर निषेधाज्ञा हुन्छ होला जस्तो लागेको थिएन । झण्डै एक वर्ष लकडाउनले बन्दी बनाएको व्यवसायी तंग्रिँर्दै गर्दा नयाँ ब्राण्ड सुरु गरेकी हुँ । पहिरन उत्पादनका काम धमाधम हुँदैथियो । ब्राण्डलाई बजारमा प्रवद्र्धन गर्न ब्राण्डिङ फोटोसुट, एक महिनाको क्याम्पियन र फेसन इभेन्टको तीव्र तयारी गर्दागर्दै निषेधाज्ञा सुरु भयो । बजारमा जानै पाइएन । यो अब कहिलेसम्म हो, अलमल परियो ।

टीजी ब्राण्डले कस्तो पहिरन बजारमा ल्याउँदैछ ?
यो मेड इन नेपाल हो । टीजी ब्राण्डको उद्देश्य अफिसियल्ली ड्रेसलगायत क्याजुअल ड्रेसहरु तयार गर्ने र नेपाली र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु हो । हामी अहिले विदेशी ब्राण्डमात्र आँखा लगाइरहेका छौँ । तर, ग¥यो भने नेपालमा पनि अन्तर्राष्ट्रिय ब्राण्डका लुगा तयार गर्न सकिन्छ भन्ने सोचले टीजी ब्राण्ड सुरु गरेका हौँ ।

नेपालकै क्लोथिङ ब्राण्ड गर्ने सोच कसरी आयो ?
म फेसनकै क्षेत्रमा १४÷१५ वर्षदेखि काम गर्दै आएकी छु । मृगतृष्णा फेसन हाउस सञ्चालन गरेकै १२ वर्ष भयो । मृगतृष्णा फेसन हाउसले बुटिकको काम गर्छ । त्यसैलाई ब्राण्डिङ गरेर विदेशमा समेत नेपाली ब्राण्ड चिनाउने उद्देश्यले टीजी ब्राण्ड सुरु गरेकी हुँ ।

टीजी ब्राण्डका लागि कति लगानी गर्दै हुनुहुन्छ ?
लगानी त धेरै छ । सुरुमै एक करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । अहिले दुई ठाउँबाट ड्रेस डिजाइन तथा उत्पादन गर्ने काम भइरहेको छ । टीजी ब्राण्डका ड्रेसहरु बजारमा लैजाने तयारी भइरहेकै बेला सरकारले निषेधाज्ञा जारी ग¥यो । सबै काम रोकियो ।

कम्पनीमा पार्टनर छ कि सिंगल ?
–मुख्य लगानी गर्ने एक जना मेरो पार्टनर हुनुहुन्छ । अरु केही साथीहरुले सर्पोट गर्नु भएको छ । टीजी ब्राण्डको सिईओ म नै हुँ ।

टीजी ब्राण्डका लुगाहरु कहिलेसम्ममा बजारमा आउँछ ?
–अब केही समय लाग्ला । भर्खरै लकडाउन सुरु भएको छ । यो कहिलेसम्म हो भन्ने निश्चित छैन । यदि लकडाउन नभएको भए हामी जेठ/असारसम्ममा बजारमा ल्याउने सोच गरेका थियौँ ।

पहिलोपटक लकडाउन हुँदा फेसन बजार पुरै डाउन थियो । किन हतारमा नयाँ काम सुरु गर्नुभएको नि ?
पहिलोपटक लकडाउन हुँदा १० महिनासम्म जान्छ भन्ने थाहा थिएन । त्यसअघि लकडाउन के हो भन्ने समेत थाहा थिए । तर, आज भोली भन्दै १० महिना अफिस बन्द गरेर बस्नु परेको थियो । लकडाउन खुलेपछि चहलपहल पनि बढ्दै थियो । व्यापार पनि राम्रै हुन थालेको थियो । यो बैशाखदेखि त केही हुन्छ कि भनेर नयाँ काम थालेकी हुँ । तर, फेरि लकडाउन ।

अहिले अनलाइन व्यापारलाई वैकल्पिक रुपमा लिइएको छ । तपाइँको सोच के छ ?
यसअघि हङकङ र अष्ट्रेलियाका लागि त अनलाइनबाटै गर्दै आएको हो । तर, अनलाइनमा मात्र गर्नु गाह्रो हुन्छ । केही नहुनुको विकल्पमात्र हो अनलाइन व्यापार । तैपनि समयअनुसार विस्तारै अनलाइन मार्केटलाई पनि प्रमोशन गर्दै जानुर्ला ।

पछिल्लो समय नेपालीहरु पनि फेसन कन्सस भएको हो ?
हो, पहिले फेसनेवल थिएँ, कन्सस थिएनन् । तर, अहिले आएर नेपालीहरु पनि फेसनेवलसँगै फेसन कन्सस भएका छन् । समयले पनि आम मानिसलाई फेसन कन्सस बनाउँदै लगेको छ । त्यसैले पनि नेपालमा फेसनको बजार बृद्धि भएको छ । –दृष्टिबाट

प्रतिक्रिया