के शवबाट कोभिड-१९ सर्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाडौं, २१ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड–१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन ।
यो रोग लगाउने सार्स–कोभ–२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा ¥याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन् । र, कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन् ।
‘आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन’ एप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा पान–अमेरिकन हेल्थ अर्गनाइजेशनका एक प्रवक्ता विलियम अडुक्रोले भनेका थिए ।
‘त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ । तपाईँ मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ । हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ’ उनले भने ।
डब्ल्यूएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट संक्रमण नहुने उल्लेख छ ।
त्यसमा भनिएको छ, ‘यदि महामारीयुक्त इन्फ्लूएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ। अन्यथा शवबाट रोग सर्दैन ।’ तर कडा खाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अंगहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन् ।
चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन् । त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन् । कोभिड–१९ लागेर ज्यान गएकाहरूका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ । (बिबिसी नेपालीबाट)

प्रतिक्रिया