उपत्यकाको निषेधाज्ञा थप कडाइका साथ लम्बिने
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्बिने भएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने उनले बताए ।
अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भएको जनाए ।
भोलिदेखि नै थप कडाइ हुने र सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिने पनि बताए ।

प्रतिक्रिया