नेपालमा हालसम्मकै बढी संक्रमित, एकैदिन ३७ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २० बैशाख

काठमाडौं, २० बैशाख । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि भयावह बन्दै गएको छ । हरेक दिन रेकर्ड संक्रमितको संख्यामा नयाँ रेकर्ड बस्दै गएको छ । आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाबाहिर बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । रेकर्ड संख्यामा संक्रमित फेला पर्दा नेपालको निको हुने दर ८३.३ प्रतिशतमा झरेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३३६२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया