स्पिडबोट दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु, ५ गम्भिर घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २० बैशाख

ढाका, २० बैशाख (एजेन्सी) । बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु व्यक्ति पनि बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले बताए ।
उनले २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको बताए । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तिब्र बनाइएको जनाए ।
गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।
बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुङ्गाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

प्रतिक्रिया