चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
अखबार टुडे
प्रकाशित:
२०७८, १९ बैशाख

वासिङ्टन, १९ बैशाख (एजेन्सी) । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो ।
नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा जानु भएको थियो । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।
सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्स मार्फत् ै अन्तरिक्षमा पुगेका थिए ।

प्रतिक्रिया