भारतमा कोरोना कहर : सीमा जोडिएका राज्यहरुमा फैलँदै संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७८, १८ बैशाख

काठमाडौं, १८ बैशाख । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएको छ । जहाँ प्रत्येक दिन संक्रमित विमारी बढ्दै गएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको ग्राफसमेत उकालो लागिहरेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक दिनमै ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि छ । एकैदिन कुनैपनि देशमा ४ लाखभन्दा बढी संक्रमण देखिएको यो पहिलोपटक हो ।
यस्तै, यही अवधिमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रमणमुक्त भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार हाल सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित भएको मुलुकमध्ये दोस्रोमा पर्छ । पहिलोमा अहिले पनि अमेरिका रहेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ । महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा ६९ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय २८ जनाको मृत्यु भएको छ ।
त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २५ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३२ हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३२ जनाको मृत्यु भएको छ ।
त्यस्तै पश्चिम बंगालमा ११ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया