झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

झापा, १७ वैशाख । झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै २६ वैशाखको राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन् ।
त्यस्तै कुनै भेला जुलुस, सभा सम्मेलन गर्न नपाइने, हाट बजार मेला जात्रा महोत्सव, भोज गर्न पनि नपाइने निषेधाज्ञामा उल्लेख गरिएको छ ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय पनि बन्द हुने भएका छन् ।
यसैबीच कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै रोकथामका लागि कोभिड–१२ जिल्ला संकट व्यवस्थापन केन्द्रले एक साताका लागि जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडीमात्र चल्न पाउने निर्णय गरेको छ ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, बैंक, वित्तीय संस्था, फोहोरमैला व्यवस्थापनलगायत अत्यावश्यक सेवाका लागि जोर–विजोर लागू नहुने भनिएको छ ।
केन्द्रको शुक्रबार बसेको बैठकले सरकारी कार्यालय, बैंक तथा विमालाई पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न भनेको छ । साथै, सबै प्रकारका सभासम्मेलन, सेमिनार, गोष्ठी, मनोरञ्जन स्थल लगायत बन्द गर्न पनि भनिएको छ ।

प्रतिक्रिया