एक दम्पतीको हत्या गर्ने ७ आरोपी कारागार चलान
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

जलेश्वर, १७ वैशाख । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका नौँ मध्ये सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

घटनामा संलग्न रन्जित मिश्र र तेजनारायण झाका हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो ।
गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब झा दम्पतीको शव गत चैत १२ गते प्लाष्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया