किरात समुदायको समाधिस्थल डोजर लगाएर भत्काएपछि विवाद
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

झापा, १७ बैशाख । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ । किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो ।
लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरे । मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी चिहान छन् ।

समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका किरात समुदायको ठूलो सङ्ख्या बिहीबार विरोध पत्र बुझाउन नगरपालिका पुगेको थियो ।

नगरप्रमुख विमल आचार्यलाई विरोध पत्र बुझाउँदै किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले वर्षौदेखि किरात समुदायले बनाएको समाधिस्थल तथा उनीहरुको आस्थाको केन्द्र नगरपालिकाले भत्काएकाले तत्काल त्यसको पुनःनिर्माण गर्नुपर्ने बताए । धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद् हुँदा स्थानीय सरकारले न्याय नदिएमा त्यसकाविरुद्ध चरणबद्ध आन्दोलन र कानूनी उपचारमा जाने उनले बताए ।

सो अवसरमा नगरप्रमुख आचार्यले नगरपालिकाले समाधिस्थल नभत्काएको बताउँदै यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी वास्तविकता वाहिर ल्याउने र समस्याको समाधान खोजिने प्रतिबद्घता व्यक्त गरे ।
समाधिस्थल भत्किएको घटनाले आफू पनि दुःखी भएको बताउँदै उनले अब त्यही स्थानमा पितृको स्मृतिमा पितृस्तम्भ र पार्क निर्माण गर्न सकिने विकल्पका बारेमा छलफल भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया