निषेधाज्ञा उल्लंघन : नौ हजार एक सय जरिवाना तिर्न नसक्दा जेल
अखबार टुडे
प्रकाशित:
२०७८, १७ बैशाख

काठमाडौं, १७ बैशाख । निषेधाज्ञा उल्लंघन गरेको भन्दै तीन जालाई प्रहरीले एक महिना जेल चलान गरेको छ । रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको हो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गर्ने ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।
कारागार चलान हुनेहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
नियन्त्रणमा लिइएका अन्य ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।
यसैबीच जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताएका छन् ।
खनालले भनेका छन्, ‘निषेधाज्ञाको पालना गराउनु जायज हो, तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो,’ उनले भने, ‘कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकमाथि अन्याय र ज्यादती गरिनु हुँदैन ।’

प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ ।

प्रतिक्रिया