नेपालमा कोरानाबाट हालसम्मकै धेरैको मृत्यु, ४ हजार ८३१ जनामा संक्रमण पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, १६ बैशाख

काठमाडौं, १६ बैशाख । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ बढ्दै गएको छ । बिहीबार नेपालमा कोरोना संक्रमण देखिए यताकै धेरैको ३५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएका छन् । यो एकैदिनमा मृत्यु भएको हालसम्मकै धेरै संख्या हो ।
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो । योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ ।
यस्तै, बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सो सङ्क्रमण १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो । विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।
यस्तै, नेपालमा अहिले कुल ३४,११७ जनाको सक्रिय सङ्क्रमण रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन्ः मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली रहेका छन् । थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
सक्रिय सङ्क्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया