स्थायी अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो महत्त्वपूर्ण रकेट प्रक्षेपण
अखबार टुडे
प्रकाशित:
२०७८, १६ बैशाख

चीन, १६ बैशाख (एजेन्सी)। चीनले नयाँ स्थायी अन्तरिक्ष स्टेसन निर्माणका लागि आवश्यक एक महत्त्वपूर्ण अंश बिहीवार प्रक्षेपण गरेको छ । चीनको अन्तरिक्ष आकाङ्क्षामा यो नयाँ कडी हो ।
अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयात्रुहरूका लागि वासस्थान रहने ‘तियाहे’ अंश बिहीवार वेनच्याङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–५बी रकेटमार्फत पठाइएको हो ।
चीनले आफ्नै नयाँ अन्तरिक्ष स्टेसन सन् २०२२ मा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
अहिले अन्तरिक्षमा रहेको एक मात्र स्टेसन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन हो जसमा रुस, अमेरिका, क्यानडा, युरोप र जापानको सहभागिता रहेको छ भने चीनलाई सहभागी गराइएको छैन ।

चिनियाँ भाषामा ‘स्वर्गमा अमनचैन’ अर्थ लाग्ने नाम राखिएको ‘तियाहे’ अन्तरिक्षमा कम्तीमा १० वर्ष सञ्चालनमा रहने बताइएको छ । चीनले उत्त स्टेसनका लागि कम्तीमा थप १० अंशहरू पठाउने छ । सो अन्तरिक्ष स्टेसन पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ र त्यसपछि अन्तरिक्षमा एक मात्र स्टेसन चिनियाँ स्टेसन हुने सम्भावना छ ।

प्रतिक्रिया