काठमाडौं, १५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र दुई हजारसहित थप ४,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो हालसम्मको तेस्रो सर्वाधिक दैनिक संक्रमण संख्या हो ।
नेपालमा गत वर्ष ५ कार्तिकमा सर्वाधिक संख्यामा ५,७४३ जनामा र असोज २४ गते ५,००८ संक्रमण पुष्टि भएको थियो । सो सङ्क्रमण १३,८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा बुधबार नेपालमा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संया ३,२११ पुगेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जना र मङ्सिर १५ गते २९ जनाको निधन भएको थियो । यो वर्ष कोरोनाभाइरसको सङ्क्रमण बढेयता यसअघि सबैभन्दा बढी गत आइतवार २८ जनाको निधन भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा बुधबार ७७३ जना संक्रमणमुक्त भएका छन् ।
१२ जिल्लामा ५०० भन्दा बढी संक्रमित
नेपालमा अहिले कुल ३०,२०९ जनाको सक्रिय संक्रमण रहेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् । जसमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली रहेका छन् । थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् ।
सक्रिय संक्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३१७ जना सघन उपचार कक्षमा र ९८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
बुधवार पुष्टि भएका संक्रमितमध्ये काठमाडौंमा १,४६४ जना, ललितपुरका ३५१ जना र भक्तपुरका २३२ जना गरी उपत्यकामा कुल २,०४७ जना छन् । रुपन्देहीमा ४३४ र बाँकेमा ३२८ जना सङ्क्रमित थपिएका हुन् ।
थपिएका सङ्क्रमितमध्ये १२३ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन् । मंगलबार पुष्टि भएका सङ्क्रमितमध्ये ९९ जना नौ वर्षसम्मका, ३१७ जना १० देखि १९ वर्षका २,३८१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।