निषेधाज्ञामा नियमित उडान नियमित हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि त्यसको नियन्त्रण तथा रोकथामको लागि बिहीबारदेखि बैशाख मसान्तसम्म काठमाडौंमा निषेधाज्ञा लागू गरेको छ । तर, निषेधाज्ञा निषेधाज्ञाकैबीच पनि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुने भएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने बिहीबारदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए । विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ ।

निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान संख्या थपेर यात्रुलाई गन्तव्यमा पु¥याउन ब्यस्त रहे । यसबीचमा काठमाडौँ बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक सङ्ख्यामा उडान थपिएको एयरलाइन्सले जनाएका छन् ।

आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ ।

यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले बुधबार २२ र मंगलबार २० तथा यतीले पाँच उडान थपेको थियो ।

बुधबार पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जनाएका छन् । बुद्ध एयरले आज १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पु¥याएको छ । सो कम्पनीले मङ्गलबार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ वटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।

यती एयरलाइन्सले बुधबार आगमन र प्रस्थान दुवैगरी ७६ उडान गरेको छ । उक्त उडानबाट चार हजार १०० यात्रुले सेवा लिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । । यतीले बिहीबार २७ उडान निर्धारण गरेको छ । कम्पनीले मङ्गलबार ७० उडान गरेको थियो । तीन हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको सङ्ख्या भने न्यून रहेको कम्पनीको भनाइ छ । हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जनाएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् ।

प्रतिक्रिया