आईसीसीको नयाँ वरियतामा कुशल ६१औँ स्थानमा
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख


काठमाडौं, १५ वैशाख ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् ।
आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए ।
नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरीयतामा समावेश भएका थिए । सिरिजको उपाधि नेपालले जित्दा सर्वाधिक २७८ रन बनाएका उनले वरीयतामा धेरै स्थान सुधार गरेका हुन् ।

भुर्तेल बंगलादेशका शकिब अल हसन, भारतका सूर्यकुमार यादव र ऋषभ पन्त, अष्ट्रेलियाका स्टिभ स्मिथ भन्दा अघि छन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दे कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया