भारतमा भयावह कोरोना : दुई लाख बढीको मृत्यु, शव जलाउन पार्कका रुखहरु काट्न थालियो
अखबार टुडे
प्रकाशित:
२०७८, १५ बैशाख

काठमाडौं, १५ बैशाख । छिमेकी मुलुक भारतले कोरोना संक्रमणको भयावह अवस्था झेल्दैछ । दैनिक संक्रमित बढिरहेका छन् । मृत्युको ग्राफ समेत उकालो लागिरहेको छ ।
भारतमा मंगलबारसम्म कोरोनाभाइरसको संक्रमणबाट दुई लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतीय अधिकारीअरूका अनुसार मंगलबारमात्रै ३,२८६ जना व्यक्तिको ज्यान गएको छ । यो संख्या महामारी सुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च संख्या भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
स्वतन्त्र विश्लेषकहरूका अनुसार भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउने मानिसहरूको संख्या सरकारले बताउने गरेको भन्दा दोब्बर हुनसक्छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अन्तिम संस्कार गरिएका आँकडा हेर्दा ज्यान गुमाउनेहरूको संख्या दोबर हुनसक्ने देखिन्छ ।
भारतमा अस्पतालमा भएका मृत्युहरूलाई मात्र गणना गरिएको छ । मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ । यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको संकट नरहेको बताइएको छ ।
थुप्रै देश तथा विश्व स्वास्थ्य संगठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन् । अस्पतालमा शय्या तथा अक्सिजन नपाएर कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ भने बिरामीहरूको चाप थेग्न अस्पतालहरूलाई हम्मेहम्मे भएको छ ।
मसानघाटमा शव जलाउन ठाउँको अभाव हुँदा दिल्लीमा अस्थायी खालको संरचना बनाइँदैछ । दिल्लीमा २४ घण्टाको अवधिमा सबैभन्दा धेरै ३८१ जनाको कोभिड–१९ का कारण ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया