काठमाडौं, १५ बैशाख । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिएको छ ।
‘संकटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को ७७औँ बैठकमा अप्रत्यक्षरूपमा भाग लिँदै नेपालले समग्र मानव जाति सङ्कटमा रहेको वर्तमान अवस्थामा विश्वलाई एउटै समाज ठानेर सबै राष्ट्रहरूबीच सहयोग र साझेदारी अपरिहार्य भएकामा जोड दिइएको हो ।
बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले कोभिड–१९ को महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव त्यसबाट व्यापार, पर्यटन र यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको बताउँदै त्यसलाई फैलिन नदिन नेपाल सरकारले अवलम्बन गरेका उपायहरूबारे जानकारी दिएको बैंककस्थित नेपालको राजदूतावासले बुधबार जनाएको छ ।
उपाध्यक्ष कँडेलका अनुसार महामारीका कारण अति कम विकसित राष्ट्रहरूको विकासशील देशमा स्तरोन्नत हुने आकांक्षामा तुषारापात गर्ने आशङ्का व्यक्त गर्दै नेपालले आफ्ना नागरिकको जीवनको रक्षा, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणका साथै अर्थतन्त्रको दिगोपना र उत्थानशील पुनःप्राप्तिलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत तथा युएन इस्क्यापका लागि स्थायी नेपाली प्रतिनिधि गणेश ढकाल, परराष्ट्र मन्त्रालय र योजना आयोगका वरिष्ठ अधिकारी सहभागी भएका थिए ।