
बुटवल, १५ बैशाख । कोरोना विशेष अस्पतालमा अक्सिजन नपाएपछि एकजना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा अक्सिजनयुक्त बेड नपाउँदा ती संक्रमितको मृत्यु भएको हो ।
देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको छ । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर,
देवदहका मेयर हिरा खत्रीका अनुसार विभिन्न अस्पतालमा रिफर गदाृ पनि नपाएपछि ती संक्रमितको मृत्यु भएको थियो । काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गर्दा समेत नपाएको उनको भनाइ छ । ती महिलाले अत्यावश्यक उपचार नपाएपछि मंगलबार दिउँसो ४ बजे मृत्यु भएको थियो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७५ पुगेको छ ।