अनिर्णित जसपा : न यता, न उता
अखबार टुडे
प्रकाशित:
२०७८, १४ बैशाख

काठमाडौं, १४ बैशाख । वर्तमान सरकार जोगाउने कि ढाल्ने भन्नेमा जनता समाजावादी पार्टी (जसपा)सँग हातमा चाबी छ । तर, जसपाले तत्काल निर्णय गर्न नसक्दा यता न उताको अवस्था छ ।
नेकपा (माओवादी केन्द्र)ले जसपा तयार हुनेबित्तिकै सरकारविरुद्ध अविश्वास प्रस्ताव गर्ने तयारीमा छ । तर, जसपाभित्रै दुई पक्ष छन् । त्यसैले पनि वर्तमान सरकार टिकिरहेको अवस्था छ ।
मंगलबार बसेको माआवादी केन्द्रको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले यो सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तम्तयार रहेको बताए । उनले भने, ‘हामी तयार छौं । जसपा सहमत हुनेबित्तिकै दर्ता हुन्छ ।’
बुधबार प्रस्ताव दर्ता हुन लागेको भन्ने खबर छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले जसपा सहमत हुनेबित्तिकै जतिबेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने बताए ।
बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । महामारीप्रति संवेदनशील बन्न सरकारसँग गर्दै माओवादी केन्द्रले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने बताएको छ । त्यसका लागि ‘डेडिकेटेड कोभिड–१९ अस्पताल’ बनाउनु पर्ने माग माओवादी केन्द्रको छ ।

अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह निर्णय भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया