जीवनशैली

छाउपडीमुक्त अभियानमा जुटे स्थानीय महिला


खलङ्गा, १४ बैशाख । जुम्लाको तिला गाउँपालिका–१का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
आमा समूहका सचिव माने रावतका अनुसार अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता रहेको अनि यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकोले यस्तो अवस्थालाई अन्त्य गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरेका बताईन । अभियान अन्तर्गत छुई भएका समयमा घरको एक कोठामा राख्न परिवारलाई आग्रह गरिने, पोषिला खानेकुराको आवश्यकताका बारेमा जानकारी बताइने छन् ।
अझै छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुनेजस्ता भ्रम छ । उनले भनिन, ‘छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो ।’
तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मूलनका लागि महाअभियान थालिएको थियो । अभियान नसकिँदै उनको सरुवा भए पछि अहिले गाउँमा महिलाले नेतृत्व लिन थालेका छन् ।

अहिले छुइगोठमुक्त अभियान नै सञ्चालन भएपछि अधिकांश महिला घरभित्रको एक कोठामै बस्नथालेको उनले बताईन ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top