कोरोना भाइरस : तीन महिनापछि पोर्चुगलमा शून्य मृत्यु, लकडाउन खुकुलो पारिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १४ बैशाख

काठमाडौं, १४ बैशाख । पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट सोमबार शून्य मृत्यु भएको आँकडा गरिएको छ । जनवरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबैभन्दा उच्च दरको संक्रमण तथा मृत्यु रेकर्ड गरिएका थिए ।
तर, लामो समय लकडाउनका कारण त्यहाँ संक्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ । जुन अहिले युरोपेली युनियनकै सबभन्दा कम भएको बिबिसीले जनाएको छ ।
संक्रमण कम भएसँगै त्यहाँ लकडाउन विस्तारै खुकुलो पारिँदैछ । योभन्दा अगाडि अगस्ट महिनामा पनि त्यहाँ दिनभरिमा कोभिडका कारण शून्य मृत्यु रेकर्ड गरिएको थियो । पोर्चुगलमा हालसम्म कोभिडका कारण १६,९६५ जनाको ज्यान गइसकेको छ । त्यहाँ ८३४,००० कूल संक्रमण रेकर्ड गरिएको छ ।
जनवरीमा सङ्क्रमण उच्चविन्दुमा पुग्दा त्यहाँ कोभिडका बिरामी बोकेका एम्बुलेन्सहरू अस्पताल सामुन्ने लाइन लागेका देखिन्थे । सोही महिना लागु गरिएको लकडाउन विस्तारै खुकुलो पारिँदैछ । विद्यार्थीहरू स्कूल फर्कन थालेका छन् भने सङ्ग्रहालय, केश काट्ने सैलुन अनि रेस्टुराँ एवं क्याफेहरू पुनः खुल्दैछन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले उक्त देश जोखिमस्तरको हरित क्षेत्र अर्थात् निकै कम जोखिममा रहेको छ । सङ्क्रमण एक प्रतिशतभन्दा कममा झरेको छ ।
पोर्चुगलमा बाँकी ईयूमा जस्तै खोप अभियानमा ढिलाइ भएको थियो । तर अधिकारीहरू भन्छन् अहिले ८० वर्षभन्दा माथि उमेर समूहका अधिकांश मानिसले खोप लगाइसकेका छन् ।
सोमवार एक वरिष्ठ स्वास्थ्य अधिकारीले पोर्चुगलले गर्मीयामको अन्त्यतिर नभइ सुरुमै ‘हर्ड इम्युनिटी’ हासिल गर्नसक्ने बिबिसीसँग बताएका छन् ।

प्रतिक्रिया