पत्रकार गिरफ्तारको घटनाप्रति महासंघ र फोनिजको गम्भीर ध्यानाकर्षण
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख

काठमाडौं, १२ बैशाख । प्रहरीले उज्यालोनेटवर्कका पत्रकारको गिरफ्तार गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी उज्यालोनेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो । प्रहरीले आइतबार उज्यालोनेटवर्कको अनामनगरस्थित कार्यालयमा उनीहरुलाई गिरफ्तार गरेको थियो ।
पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको स्मरण गराउँदै महासंघले यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको ठहर गरेको छ ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ ।
साथै ‘अनलाइनमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।’ विज्ञप्तमा भनिएको छ ।
यस्तै, पत्रकार गिरफ्तारप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि ध्यानाकर्षण जनाउँदै विनाशर्त अविलम्ब रिहा गर्न माग गरेको छ ।
फोजिनका संगठन सचिव मिलन लिम्बूद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उज्यालो नेटवर्कमा प्रकाशित समाचारबारे विवाद प्रेस काउन्सिल नेपालले निरुपण गरिसकेको र उच्च अदालतले उक्त समाचारकै आधारमा पत्रकारहरुमाथि धरपकड नगर्न आदेश दिइसकेको सन्दर्भमा सोही समाचारका विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु, धरपकड गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङघन र निरंकुशता प्रदर्शन हो ।’

प्रतिक्रिया