युरोपतर्फ हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशंका
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख


कायरो, १२ बैशाख । युरोपतर्फ हिँडेका १३० आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन् । आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरु भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन् ।
‘ओसन भाइकिङ’ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ । उद्धारकर्ताहरुले दुर्घटना भएको ठाउँमा १० जनाको शव मात्र भेटाएको जनाए ।
एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन् । उक्त संस्थाले समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारहरु असफल रहेको आरोप लगाएको छ ।

सन् २०११ देखि नेटो समर्थित आन्दोलनबाट लिबियाली नेता मोउमर गद्दाफीको मृत्यु भएपछि लिबियाको जलक्षेत्रबाट ठूलो संख्यामा द्वन्द्वग्रस्त अफ्रिकी र मध्यपूर्वका मुलुकका आप्रवासीहरु युरोप प्रवेश गर्न थालेका छन् । मानव तस्करहरुले कमजोर डुङ्गामा चढाएर आप्रवासीलाई भूमध्यसागर पार गराउने जिम्मा लिने गरेका छन् । त्यसक्रममा डुङ्गाहरु बीचमै डुब्ने गरेपछि बर्सेनि सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया