त्रिशूलीमा खसेर दुई मजदुर बेपत्ता, तीनको उद्धार
अखबार टुडे
प्रकाशित:
२०७८, १२ बैशाख

चितवन, १२ बैशाख । भतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् भने तीन जनाको उद्वार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आइतबार बिहान ९ बजेतिर पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए ।
दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।
निर्माणाधीन सो पुलको केही भाग चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए ।
घटनाको विस्तृत विवरण आइनसकेको उहाँको भनाइ छ । काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए ।

प्रतिक्रिया