भीडभाड उस्तै : सरकारको आदेश पालना नगरे ‘लकडाउन’
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख

काठमाडौं, ११ बैशाख । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण फैलँदै गएको छ । तर, भीडभाड घटेको छैन । त्यसैले पनि कोरोना संक्रमणले भयावह रुप लिन सक्ने स्वास्थ्यविज्ञहरुले चेतावनी दिन थालेका छन् ।
यसैबीच शनिबार बालुवाटारमा कोरोना संक्रमणबारे छलफल भएको छ । शनिबार साँझ भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ सचिव र सुरक्षा अंगका प्रमुखहरुबीच छलफल भएको हो । स्रोतका अनुसार बैठकले कोरोनाको बढ्दो जोखिमबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए ।
शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भीडभाडका साथ धरहराको उद्घाटन गरेका थिए । त्यसलगत्तै बसेको बैठकमा कोराना संक्रमणको जोखिम कसरी नियन्त्रण गर्ने भन्ने उपायबारे छलफल भएको जनाइएको छ ।
बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।
स्रोतका अनुसार ब्रिफिङमा सहभागी सबैले सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएको निष्कर्ष निकालेको छ । स्कुल कलेजमात्र नभएर सार्वजनिक यातायात र फुटपाथमा समेत भीडभाड उस्तै रहेको छ ।
अर्कोतिर उद्घाटन कार्यक्रम, जात्रा र सेमिनार कार्यक्रमहरु धमाधम भइरहेका छन् । यसरी सरकारी आदेश र निर्णयको कार्यान्वयन नभएको अवस्थामा लकडाउन गर्न सकिने सहभागीहरुले प्रधानमन्त्री ओलीलाई सुझाएका छन् । त्यसमा प्रधानमन्त्री पनि सहमत रहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ‘उहाँले सकभर स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्ने, यदि मापदण्ड पालना भएन भने लकडाउनमा जान सकिने बताउनुभएको छ ।’

प्रतिक्रिया