काठमाडौं, ११ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउनको विकल्प अपनाउनुपर्ने बताएका छ । कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्नेबारे छलफल अगाडि बढेको बेला मन्त्रालयले संक्रमण नियन्त्रणका लागि ‘मोबिलिटी रेस्ट्रिक्सन’ (आवातजावतमा कडाइ)मा जोड दिएको हो ।
विभिन्न नाममा भिडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालना नगरी लापरबाही भइरहेको सन्दर्भमा मोबिलिटी रेस्ट्रिक्सन उपयुक्त विकल्प हुने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार मन्त्रालय विगत १ महिनादेखि सो मोडलको पक्षमा मन्त्रालय रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुझाइएको थियो । जसमा ५ जनाभन्दा बढी भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरुमा कडाइ गर्नेजस्ता विषय समेटिएका थिए । मन्त्रालयले कोरोनाको सम्भावित फैलावटलाई रोक्न समयमै सीसीएमसीलाई सिफारिस गरेपनि निर्णयमा ढिलाइ गएको गौतमले गुनासो गरे । उनले भने, ‘विद्यालय समयमै बन्द गर्नुपर्ने थियो, भीडभाड हुने ठाउँमा समयमा सजक हुनुपर्ने थियो । समयमा मोबिलिटी रेस्ट्रिक्सन भइदिएको भए केही सहज हुन्थ्यो ।’
उनले लकडाउन नै कोरोना रोकथामको विकल्प नभएको बताउँदै स्वास्थ्य मापदण्डको पालनासहित जावतजावतमा कडाइ गरिनुपर्नेमा जोड दिए । कतिपयले कोरोना भयावह बन्दै गएको भन्दै लकडाउन गर्नुपर्ने बताउँदै आएको बेला मन्त्रालयको यस्तो धारणा आएको हो ।