काठमाडौं, ११ बैशाख । आज ११ बैशाख अर्थात जनताले जितेको दिन । २०६३ साल बैशाख ११ गते नेपालमा जरा गाडेको राजतन्त्र सधैंका अन्त्य भयो । नेपाली जनताको क्रान्तिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गर्न उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ ।
जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार पुर्नस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दियो । शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२बुँदे सहमतिले नेपाली जनतामा एकप्रकारको विश्वास पैदा भएको थियो ।
सत्ता र शक्तिका अगाडि कुनै परवाह नगरी नेपाली जनता परिवर्तनको पक्षमा एकाकार भएका थिए । त्यसलाई नेपालको राजनीतिक इतिहासमा १९ दिने ऐतिहासिक जनआन्दोलन वा दोस्रो जनआन्दोलनको रुपमा लिपीवद्ध गरिएको छ ।
नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत जनताले आफ्नो संविधान आफैँ बनाए । संविधानसभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भयो ।
प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र संघर्षको अन्तरघुलनको परिणामस्वरूप नेपालका झण्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रुपमा रहन तयार भए ।
दोस्रो जनआन्दोलनले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ । राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याइएको छ ।
वसन्त क्रान्तिको दिशानिर्देशअनुसार नै संघीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाँउमै सिंहदरबाट पाउने सेवा तथा सुविधा पाएका छन् ।
लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १५औँ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ । विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोकेका थिए ।
आफूखुशी तोकिएका प्रधानमन्त्रीबाटसमेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बन्ने भएपछि आममानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गएको थियो । माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो ।
जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरंकुश राजतन्त्रको अन्त्यलगायत थियो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ । वैशाख ११ गतेपछि नै नेपालको राजनीति नयाँ दिशामा अग्रसर भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।