बालुवाटारमा ओलीको आक्रोश : ‘अर्को पक्षले पार्टी कब्जा गर्न खोजे’
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख

काठमाडौं, १० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् । आफू पार्टी एकवद्ध गर्न चाहेर पनि अर्को पक्ष नमानेको भन्दै उनले नेपाल पक्ष पार्टी कब्जा गर्ने नियतमा रहेको बताए ।
शुक्रबार बालुवाटारमा राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले माधव नेपाल र योगेश भट्टराईसँगको कुराकानीमा नेपाल एकताप्रति इमान्दार नदेखिएको बताए ।
शुक्रबार बालुवाटर बैठकमा सहभागी एक नेताले ओलीले आफू अझै पनि लचिलो भएर आएको सुनाएको बताए । जहाँ ओलीले भने, ‘दुई कदम पछाडि र एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरेँ । तर, साथीहरूको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन ।’
अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको आरोप लगाएका छन् । उनले आफूलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस नेपालले गरेको भन्दै त्यसमा नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पनि दोषी भएको उनको आशय थियो ।
बैठकमा ओलीले अहिले केही व्यक्तिहरू अराजक ढंगले पार्टीकै विरुद्ध विषबमन गरिरहेको बताउँदै भने, ‘एमाले खोस्ने हिसाबले कोही आएको छ भने त्यो सम्भव छैन, अब यो पार्टीले हिजोबाट नयाँ उचाइ लिएको छ ।’

प्रतिक्रिया