कोरोना जोखिम बढेपछि पशुपतिनाथ मन्दिर बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, ९ बैशाख

काठमाडौं, ९ बैशाख । पछिल्लो समय पुन कोरोनाभाइरस महामारी फैलँदै गएपछि हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य सबै गतिविधि बन्द गरिने भएको छ । उक्त व्यवस्था शुक्रबारदेखि लागू हुने पशुपति क्षेत्र विकास कोषले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
पशुपति क्षेत्रमै रहेको गुह्येश्वरी मन्दिरमा पनि शुक्रबारदेखि नै नित्य पूजाबाहेक गतिविधिमा रोक लगाइएको वक्तव्यमा उल्लेख छ । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कोरोनाभाइरस संक्र्रमण फैलिरहेकाले नेपाल सरकारले जारी गरेको पछिल्लो आदेशअनुसार मन्दिरमा नित्य पूजाबाहेकका कार्य रोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २,४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,३६५ जना र एन्टिजन विधिबाट ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभरिका प्रयोगशालाबाट १०,००१ नमुनाको पीसीआर र ४४७ जनाको एन्टिजन परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका मन्त्रालयले जारी गरेको विवरणमा जनाइएको छ ।
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाण्डूमा ९८७ जनामा कोरोनाभाइरस संक्र्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभरि सक्रिय संक्रमितको संख्या १२,६९० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया