लक्ष्यभन्दा रु २३ करोड बढी राजस्व सङ्कलन
अखबार टुडे
प्रकाशित:
२०७८, ९ बैशाख

विराटनगर, ९ बैशाख । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु ६ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ५ अर्ब ९९ करोड ५ लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।
गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा रु एक अर्ब ३३ करोड १० लाख नौ हजार बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ । कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सङ्कलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको बताए । उनले अन्तःशुल्क चालु आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक सङ्केत रहेको बताए ।
कार्यालयले सो अवधिमा आयकरतर्फ रु दुई अर्ब ४३ करोड छ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ रु एक अर्ब ९१ करोड २७ लाख ३६ हजार सङ्कलन गरेको छ । सङ्कलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।
गएको वर्षमा सो अवधिमा कार्यालयले रु चार अर्ब ८८ करोड ८६ लाख छ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सोही अवधिमा कूल रु छ अर्ब ८५ करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गएको वर्ष राजस्व सङ्कलन हुनुमा अन्तःशुल्कमा प्रगति कम देखिएको थियो । कोरोनाका कारण बन्दाबन्दी हुनु, विकास निर्माणको काम ठप्प हुनु र मदिराजन्य पदार्थको उत्पादन एवं बिक्री पनि न्यून देखिकाले अन्तःशुल्कबापत सङ्कलन हुने राजस्व कम भएको प्रमुख सापकोटाको भनाइ छ ।
गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १०४ प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो । विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक सङ्केत देखिएको प्रमुख सापकोटाको भनाइ छ ।

प्रतिक्रिया