अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी चौभिन दोषी ठहर : ४० वर्ष जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७८, ८ बैशाख

मिनियापोलिस, ८ बैशाख (एजेन्सी) । अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।
गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय ‘श्वेत जातिका’ प्रहरी अधिकारी डेरेक शोभिनले ९ मिनेटभन्दा बढी समयसम्म घुँडाले उनको घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो । सार्वजिनक भएको भिडियोमा फ्लोएडले पटकपटक ‘म सास फेर्न सकिरहेको छैन’ भन्ने सुनिएको थियो ।
मिनियापोलिसको अदालतले उक्त धटनाको फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए ।
जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताए । अदालतको जुरीमा सात जना महिला र पाँच जना पुरुष रहेका थिए । अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ ।
४६ वर्षीय फ्लोएडको मे २५, २०२० का दिन मृत्यु भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । तर उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए ।

प्रतिक्रिया