कोरोना जोखिम : २५ जनाभन्दा बढी भेला नहुन सरकारको आग्रह !
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । सरकारले नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको नेपालमा समेत जोखिम बढेको भन्दै सोमबार मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुन आग्रह गरेको थियो ।


तर, सरकारको उक्त निर्णयको उल्लंघन दोस्रो दिन मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीबाटै बालुवाटारबाट सरकारी नियमको उल्लंघनको शुरुवात भएको छ ।
मंगलबार साँझ उक्त नियमलाई सेतो मच्छिन्द्रनाथ जात्राको क्रममा पनि बेवास्ता गरिएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’को शुभराम्भ गरेका थिए । जहाँ २५ भन्दा बढी मानिस सहभागी थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पर्यटनमन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति थियो ।


सरकारले सार्वजनिक गरेको आदेशमा वैशाख मसान्तसम्म प्रार्थनाबाहेकका धार्मिक समारोहहरू नगरिने भनिएको छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था गरिँदैछ ।सरकारले आफैँले नियम बनाउने अनि पालन नगर्ने भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । कोरोना जोखिमका कारण विद्यालय, पाटी प्यालेस, सिनेमा हललगायत भीडभाड हुने व्यवसायी समेत बन्द गर्न भनिएको छ ।
मंगलबार पछिल्लो समयकै सर्वाधिक १७ सय ३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये कोरोनाभाइरस संक्रमणको हब बनेको काठमाडौँमा मात्र एकैदिन ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणको उच्च जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारबाट सुरु भएको छ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिएको थियो । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु भएको थियो ।

प्रतिक्रिया