ओली-नेपाल टकराव : एमालेका ३२ सांसदलाई स्पष्टिकरण, माधव पक्षको आकस्मिक बैठक
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । नेकपा एमालेले माधवकुमार नेपाल समूहलाई अलग पार्टीको गठन गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

मंगलबार प्रतिनिधिसभाका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणमा अलग पार्टी गठन गरेकाले कारबाही किन नगर्ने ? भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारबाही प्रकृया अघि बढाएका हुन् । केन्द्रका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई मंगलबार स्पष्टिकरण सोधिएको हो ।

संघीय सांसदलाई पठाइएको स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै ‘किन कारबाही नगर्ने ? भन्दै प्रश्न गरिएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

सच्चिन अन्तिम मौका भएको भन्दै सोधिएको स्पष्टीकरणमा एमालेको पक्षमा आउने प्रमाण पेस गरेमा पुनर्विचार गर्न सकिने उल्लेख छ ।

उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लंघन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहनुभएको छ । यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई ६ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो ।

यसैबीच एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपछि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया