एमालेमा कारबाहीको पहिरो : नेपालसहित दर्जनौँ सांसदलाई स्पष्टिकरण सोध्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । सत्तारुढ नेकपा एमालेमा कारबाहीको पहिरो गएको छ । एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने तायरी गरेको छ ।
बरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले बताएका छन् ।
यस्तै, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने ४ जना प्रदेश सांसदसहित मत दिएर पछि फिर्ता लिने एक जना सांसदलाई पनि स्पष्टीकरण पठाउने तयारी गरिएको बताइएको छ । ती सांसदलाई कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गरेकोले स्पष्टीकरण सोध्न लागिएको हो ।
नेकपा एमालेको सोमबार बसेको दशौँ महाधिवेशन आयोजक समितिको बैठकले नेता नेपालसहितका २० जनालाई थप कारबाही गर्ने निर्णय गरेको थियो ।
पार्टीका वरिष्ठ नेता नेपालसहित पार्टीका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधी निलम्बन गरिसकेको छ। उनीहरुलाई यसपटक सोधिएको स्पष्टीकरण भने सांसद पदबाट कारबाही गर्नका लागि गरिएको हो ।

प्रतिक्रिया