राष्ट्रियसभाको रिक्त पदमा जेठको पहिलो साता निर्वाचन गर्न प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । राष्ट्रियसभाको रिक्त एक स्थानमा जेठको पहिलो साता उपनिर्वाचन गर्न प्रस्ताव गरिएको छ । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा कारवाहीमा परेपछि बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पद रिक्त रहेको छ ।

संघीय संसदले निर्वाचन आयोगलाई राष्ट्रियसभाको एक पद रिक्त रहेको जानकारी गराएपछि आयोगले निर्वाचनका लागि मिति तय गर्न गृह मन्त्रालयलाई पत्रचार गरेको छ । राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ ।

कानुनको त्यही व्यवस्थालाई हेर्दै आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ३५ दिनको अवधि जेठ ७ गते पुग्दै छ । त्यसअनुसार आयोगले जेठ पहिलो साताभित्रको उपयुक्त दिनमा मिति तोक्न सुझाव दिएको हो ।

उक्त स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति हुनेछ । त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् ।

प्रतिक्रिया